देवानी मुद्दा मामिला र विवाद समाधान
यस सामग्रीले कोरियामा देवानी विवादमा परेका विदेशी नागरिकहरूका लागि कोरियाली अदालतहरूको क्षेत्राधिकार; मुद्दा दायर गर्नुअघि उपलब्ध सरल प्रक्रियाहरू; मुद्दा दायर गर्दा लाग्ने प्रक्रिया तथा खर्चहरू; दोभाषे, अनुवाद, र मुद्दाको खर्च सम्बन्धी सहायता; तथा फैसलापछिको अनिवार्य कार्यान्वयनसम्बन्धी कानुनी जानकारी प्रदान गर्दछ।
- "देवानी मुद्दा" भन्नाले राज्यको न्यायिक अधिकारको प्रयोग मार्फत निजी कानुनी सम्बन्धहरूबाट उत्पन्न हुने विवादहरू, जस्तै: दिएको ऋण फिर्ताको दावी, लिज धरौटी फिर्ता, भुक्तानी नभएको पारिश्रमिक र क्षतिपूर्तिको समाधान गर्ने न्यायिक प्रक्रियालाई बुझिन्छ। पक्षहरूले विवाद समाधान गर्न अदालतसमक्ष अनुरोध गर्छन् र आ-आफ्ना दावी तथा प्रमाणहरू पेस गर्छन्, जसका आधारमा अदालतले तथ्यहरू यकिन गरी कानुनको प्रयोग गर्छ र पक्षहरूको अधिकार संरक्षण गर्न फैसला सुनाउँछ [कोरियाली कानुन सूचना केन्द्र (www.law.go.kr)- कानुनी शब्दावली शब्दकोश हेर्नुहोस्]।
- विदेशी नागरिकहरूले कोरियाली अदालतहरूमा देवानी मुद्दा दायर गर्न सक्छन् वा उनीहरूविरुद्ध मुद्दा दायर हुन सक्छ र उनीहरूको राष्ट्रियता वा बसाइको हैसियतका आधारमा उनीहरूको सुनुवाइको अधिकारमाथि कुनै प्रतिबन्ध लगाइँदैन।
- कुनै पक्ष वा विवादको कोरियासँग सारभूत सम्बन्ध भएको अवस्थामा कोरियाली अदालतहरूसँग अन्तर्राष्ट्रिय क्षेत्राधिकार रहन्छ (「निजी अन्तर्राष्ट्रिय कानुन सम्बन्धी ऐन」को धारा 2 (1))। विशेष गरी, निम्न मध्ये कुनै पनि अवस्थामा कोरियाली अदालतमा देवानी मुद्दा दायर गर्न सकिन्छ।
※ कोरियाली अदालतको क्षेत्राधिकार भए तापनि कोरियाली कानुन नै अनिवार्य रूपमा विवादमा लागू हुन्छ भन्ने हुँदैन। लागू हुने कानुन 「निजी अन्तर्राष्ट्रिय कानुन सम्बन्धी ऐन」को धारा 45 देखि 55 बमोजिम निर्धारण गरिन्छ। यद्यपि, कोरियामा सम्पादन गरिएको काम वा सञ्चालन गरिएको कारोबार वा कोरियामा अवस्थित सम्पत्तीसँग सम्बन्धित अधिकांश विवादहरूमा कोरियाली कानुन लागू हुन्छ।
विवादित रकम अपेक्षाकृत थोरै छ वा अर्को पक्षले ऋण वा दायित्वको विषयमा विवाद गर्दैन भने सामान्य देवानी कारबाही सुरु गर्नुअघि देहायका संक्षिप्त प्रक्रियाहरूमध्ये कुनै एक अपनाउनु फाइदाजनक हुन सक्छ।
※ साना दाबी सम्बन्धी प्रक्रियाका लागि योग्य हुने उद्देश्यले एउटै दाबीलाई धेरै दाबीहरूमा विभाजन गर्न पाइने छैन। यस नियमको उल्लङ्घन गरी दायर गरिएको मुद्दा फैसलाद्वारा खारेज गरिने छ (「साना दाबी सुनुवाइ सम्बन्धी ऐन」को धारा 5-2)।
- अधिकारप्राप्त अदालतमा फिराद पत्र दायर गरेर देवानी मुद्दा सुरु गरिन्छ। फिराद पत्रमा पक्षहरूको पहिचान खुलाउनुका साथै माग गरिएको मागदाबी र दाबीका आधारहरू उल्लेख गर्नुपर्छ (「देवानी कार्यविधि ऐन」को धारा 248 (1) र 249 (1))।
- सामान्यतया प्रतिवादीको बासस्थानमा रहेको अधिकारप्राप्त अदालतमा मुद्दा दायर गर्नुपर्छ। यद्यपि, कुनै कार्यालय वा व्यवसाय रहेको स्थान, दायित्व पूरा गर्नुपर्ने स्थान वा अपकृत्य/देवानी कसुर भएको स्थानमा अधिकारप्राप्त भएको अदालतमा पनि यो मुद्दा दायर गर्न सकिन्छ (「देवानी कार्यविधि ऐन」को धारा 2, 3, 5, 8 र 18 हेर्नुहोस्)।
- देवानी मुद्दा सुरु गर्न वादीले मुद्दाको विषयवस्तुको मूल्य अनुसार गणना गरिएको दर्ता दस्तुरका साथै लागू हुने तामेली शुल्कहरू अग्रिम रूपमा बुझाउनुपर्छ। सामान्यतया, अदालती खर्च हार्ने पक्षले व्यहोर्नुपर्छ (「देवानी मुद्दामा टाँसिने टिकट सम्बन्धी ऐन」को धारा 2 र 「देवानी कार्यविधि ऐन」को धारा 98 हेर्नुहोस्)।
- विद्युतीय मुद्दा दर्ता प्रणाली (https://ecfs.scourt.go.kr) मा प्रयोगकर्ताको रूपमा दर्ता गरेपछि मुद्दाका पक्षले अदालतमा भौतिक रूपमा उपस्थित नभई विद्युतीय माध्यमबाट फिराद पत्र दायर गर्न, मुद्दाको अभिलेखमा पहुँच प्राप्त गर्न र अदालतका कागजातहरूको विद्युतीय तामेली प्राप्त गर्न सक्ने छन् (「देवानी मुद्दाहरूमा विद्युतीय कागजातहरूको प्रयोग सम्बन्धी ऐन」को धारा 8 हेर्नुहोस्)।
※ अदालतलाई अदालती खर्चको लागि धरौटी आवश्यक छ भन्ने ठहरेमा—उदाहरणका लागि, वादीको कोरियामा कुनै बासस्थान, कार्यालय वा व्यवसाय रहेको स्थान नभएको कारणले—प्रतिवादीको निवेदन बमोजिम अदालतले वादीलाई त्यस्तो धरौटी पेस गर्न आदेश दिनुपर्छ (「देवानी कार्यविधि ऐन」को धारा 117 (1) को अघिल्लो भाग)।
· वादीले तोकिएको अवधिभित्र धरौटी पेस नगरेमा अदालतले मौखिक सुनुवाइ नगरी फैसलाद्वारा मुद्दा खारेज गर्न सक्ने छ (「देवानी कार्यविधि ऐन」को धारा 124 को मुख्य खण्ड)।
· सामान्यतया, यो व्यवस्था कोरियामा बसोबास गर्ने र बासस्थान भएका विदेशी नागरिकको हकमा लागू हुँदैन।
- अदालती कारबाही कोरियन भाषामा सञ्चालन गरिन्छ। कारबाहीमा भाग लिने कुनै व्यक्तिले कोरियन भाषा बुझ्दैन भने अदालतले दोभाषेको व्यवस्था गर्नुपर्छ (「अदालत संगठन ऐन」को धारा 62 र 「देवानी कार्यविधि ऐन」को धारा 143 (1) को मुख्य खण्ड हेर्नुहोस्)।
- प्रमाणको रूपमा पेस गरिएको कागजात कोरियन बाहेक अन्य अक्षर वा प्रतीकहरूमा लेखिएको छ भने कोरियन अनुवाद संलग्न गर्नुपर्छ (「देवानी कार्यविधि नियमावली」को नियम 106 (2) को मुख्य खण्ड)।
- अदालती खर्च बुझाउन पर्याप्त आर्थिक क्षमता नभएको व्यक्तिले अदालती सहायताका लागि अदालतमा निवेदन दिन सक्ने छ। अदालती सहायतामा निम्न कुराहरू समावेश हुन सक्छन्: दर्ता दस्तुर र तामेली शुल्क जस्ता अदालती खर्च बुझाउने समय पछि सार्ने; कानुन व्यवसायीको शुल्क भुक्तानी समय पछि सार्ने; र अदालती खर्चबापत धरौटी पेस गर्ने दायित्वबाट छुट। विदेशी नागरिकहरूले पनि अदालती सहायताका लागि आवेदन दिन सक्ने छन् [「देवानी कार्यविधि ऐन」को धारा 128 (1) र 129 (1) तथा कोरिया सर्वोच्च अदालतको विद्युतीय मुद्दा दर्ता प्रणाली (ECFS) (https://ecfs.scourt.go.kr/psp/index.on?m=PSP720M06) हेर्नुहोस्]।
- सियोल केन्द्रीय जिल्ला अदालत, सियोल प्रशासकीय अदालत, सियोल पारिवारिक अदालत, सुवन जिल्ला अदालतको आन्सान शाखा, इन्छन जिल्ला अदालतको बुछन शाखा र देगु जिल्ला अदालतको पश्चिमी शाखाले विदेशी नागरिकहरू संलग्न भएका ठूलो सङ्ख्याका मुद्दाहरू हेर्ने गर्दछन् र अदालती सहायता खोज्ने विदेशी मुद्दाका पक्षहरूका लागि अदालतद्वारा नियुक्त वकिल सेवा सञ्चालन गर्दछन् [ECFS (https://ecfs.scourt.go.kr/psp/index.on?m=PSP720M06) हेर्नुहोस्]।
· आर्थिक कठिनाइ भोगिरहेका विदेशी नागरिक वा आप्रवासीले अदालती सहायता बारे सोधपुछ गर्दा अदालतले अदालती सहायताको निवेदन दिने तथा फिराद पत्र तयार गर्ने लगायतका अदालती प्रक्रियाहरूमा सहयोग गर्न सक्ने पूर्व-चयनित कानुन व्यवसायीहरूको सूची सम्बन्धी जानकारी उपलब्ध गराउँछ।
- आर्थिक कठिनाइ भोगिरहेका वा कानुनी सहायताका लागि योग्य निश्चित वर्गमा पर्ने विदेशी नागरिकहरू (जस्तैः अपाङ्गता भएका व्यक्ति वा एकल अभिभावक परिवारका सदस्यहरू) ले कानुनी परामर्श र मुद्दामा प्रतिनिधित्व लगायतका सहायताका लागि कोरिया कानुनी सहायता निगममा आवेदन दिन सक्ने छन् [「कानुनी सहायता ऐन」को धारा 7 र कोरिया कानुनी सहायता निगमको वेबसाइट (www.klac.or.kr) हेर्नुहोस्]।
- फैसला अन्तिम र अकाट्य भइसकेपछि पनि फैसला बमोजिमको हार्ने पक्षले आदेश गरिएको रकम तिर्न असफल भएमा, जित्ने पक्षले अन्तिम र अकाट्य फैसला जस्तो कार्यकारी अधिकारपत्रको लागि कार्यान्वयन खण्ड प्राप्त गर्न सक्ने छ र हार्ने पक्षको अचल सम्पत्ति, दाबीहरू वा भौतिक चल सम्पत्ति विरुद्ध बाध्यात्मक कार्यान्वयनका लागि निवेदन दिन सक्ने छ (「देवानी कार्यान्वयन ऐन」को धारा 24, 28 र 39 हेर्नुहोस्)।
- यदि तोकिएका सबै सर्तहरू पूरा भएमा विदेशी अदालतले गरेको अन्तिम र अकाट्य फैसलालाई कोरियामा मान्यता दिइन्छ। यी सर्तहरूमा विदेशी अदालतको अन्तर्राष्ट्रिय क्षेत्राधिकार रहेको, हार्ने प्रतिवादीलाई रीतपूर्वक म्याद तामेल गरिएको, फैसलालाई दिइने मान्यता कोरियाको असल नैतिकता वा अन्य सामाजिक व्यवस्थाको विपरीत नभएको र पारस्परिकता कायम रहेको हुनु पर्ने कुराहरू समावेश छन् (「देवानी कार्यविधि ऐन」को धारा 217 (1) हेर्नुहोस्)।
- कोरियामा विदेशी अदालतको फैसला कार्यान्वयन गर्नका लागि, फैसला बमोजिमको जित्ने पक्षले कोरियाली अदालतबाट कार्यान्वयनको फैसला प्राप्त गर्नु पर्ने छ (「देवानी कार्यान्वयन ऐन」को धारा 26 (1) हेर्नुहोस्)।
※ विदेशी नागरिक तथा आप्रवासीहरूका लागि देवानी कारबाही, अदालती सहायता, दोभाषे सहायता र अदालती फारमहरू सम्बन्धी जानकारी 'विदेशी तथा आप्रवासीहरूका लागि न्यायिक जानकारी' वेबसाइट (https://jifi.scourt.go.kr/foreigner/main/Main.work) मा उपलब्ध छ।
यो जानकारी 2026 अक्टोबर 29 मितिसम्म अपडेट गरिएको विवरण हो।
- सजिलै खोज्न सकिने व्यावहारिक कानून (easylaw.go.kr) कानुनी रूपमा बाध्यकारी कुनै पनि आधिकारिक व्याख्या (निर्णय वा निरुपण) को आधार बन्दैन र निवेदन, पुनरावेदन वा अन्य दाबीहरूमा यसको प्रमाणिक मान्यता हुँदैन।
- माथिको जानकारीका सम्बन्धमा वेबसाइट सुधार सम्बन्धी सुझाव दिन कृपया निम्न मेनु प्रयोग गर्नुहोस्: कुनै विदेशी भाषामा सुझाव।